विश्वव्यापी सवालको रुपमा स्थापित हुन पुगेको लैङ्गिकताको सवाल वर्तमान अवस्थामा नेपालमा ज्यादै महत्वपूर्ण राजनीतिक तथा सामाजिक सवालका रुपमा मान्यता प्राप्त गरेको छ । आधुनिक विकासको क्रमसगै विकासका मोडेलहरुमा थप नया अवधारणाको शुरुवात हुने क्रममा सन् १९८० को दशक देखि शुरु भएको Gender & Development विकास अवधारणा हाल आएर लैङ्गिक समानता तथा महिला सशक्तिकरणका पक्षमा पनि विशेष चासो र महत्वका साथ हेरिने गरिएको छ । विकासका कार्यक्रममा लैङ्गिक पक्षमा ध्यान नदिई तर्जुमा गरिएका योजनाहरु दिगो रुपमा सञ्चालन हुन नसकिरहेको सन्दर्भमा कार्यक्रम संचालन गरी गरीव, दलित, जनजाति तथा विकासका क्रममा पछाडी पारिएका वर्गहरु विशेषगरी महिला, बालबालिका, किशोरीहरु, अपाङ्गता भएका व्यक्ति एवम् जेष्ठ नागरिकहरुको हक, हीतको संरक्षण एवम् प्रवर्धनका लागि उनीहरुकै सक्रिय सहभागिताबाटै आर्थिक, सामाजिक तथा सास्कृंतिक पक्षहरुमा सुधार गर्दै जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले सञ्चालित महिला विकास कार्यक्रमले विभिन्न आरोह र अवरोह पार गर्दै यस अवस्था सम्म आइपुगेको छ । यस क्रममा नेपालले सस्थागत रुपमा नै विगत वर्षहरुवाट लैङ्गिक समानताका लागि थुप्रै प्रयासहरु गरिआएको छ । नेपालका हरेक क्षेत्रमा उनीहरुको पँहुच वढाउनका लागि सकारात्मक कार्य ( Affermative Action ) को नीति अवलम्वन गरिदै आएको पाईन्छ ।